सिरी ‘ए’ मा मिलानका दुवै टोलीको विजयी सुरुवात

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा मिलानका दुवै टोलीले विजयी सुरुवात गरेका छन्। लिगअन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता एसी मिलानले उडिनेस तथा इन्टर मिलानले लिसलाई हराउँदै विजयी सुरुवात गरेका हुन्।

मिलानले घरेलु मैदान सान सिरोमा उडिनेसविरुद्ध ४-२ को सहज जित निकाल्यो। उसका लागि एन्टे रेबिचले २ तथा ब्राहिम डियाज र थियो हर्नान्डेजले १/१ गोल गरेका थिए। उडिनेसका रोड्रिगो बेकाओ र एडम मसिनाले १/१ गोल फर्काएका थिए।

खेलको दोस्रो मिनेटमै बेकाओले गोल गर्दै उडिनेसलाई सुरुवाती अग्रता दिलाएका थिए। ११ औं मिनेटमा हर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए।

१५ औं मिनेटमा रेबिचले गोल गर्दै इन्टरलाई २-१ ले अघि बढाएका थिए। पहिलो हाफको थप गरिएको समयमा मसिनाले उडिनेसलाई २-२ को बराबरीमा ल्याए। ४६ औं मिनेटमा डियाले घरेलु टोलीका लागि तेस्रो गोल गरेका थिए। 

६८ औं मिनेटमा रेबिचले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले ४-२ को सहज जित निकाल्यो। जितसँगै मिलानले ३ अंक जोड्दा उडिनेसले हारबाट लिगको सुरुवात गरेको छ।

त्यस्तै, इन्टरले घरेलु टोली लिसमाथि २-१ को रोमाञ्चक जित निकाल्यो। उसका लागि  राेमेलु लुकाकु र डिजन डम्फ्रिजले १/१ गोल गर्दा लिसका असान सिसेले १ गोल फर्काएका थिए।​

स्टेडियो कम्युनले भिया डेल मारेमा खेलको दोस्रो मिनेटमै लुकाकुले इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा सिसेले लिसलाई १-१ को बराबरीमा ल्याएका थिए। थप गरिएको समयमा डम्फ्रिजले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकालेको हो।

जितसँगै इन्टरले ३ अंक जोड्दा लिसले हारबाट लिगको सुरुवात गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×