१८ वर्षपछि ‘धड्कन २’ निर्देशन गर्दै नरेश पौड्याल

काठमाडौँ - फिल्म ‘धड्कन’ निर्माणको १८ वर्षपछि निर्माता तथा निर्देशक नरेश पौड्याल दोस्रो श्रृंखला लिएर पुनरागमन गर्दैछन्। मंगलबार फिल्मको औपचारिक घोषणा गर्दै उनले अभिनेत्री सञ्चिता लुइँटेल फिल्ममा जोडिएको जानकारी दिएका छन्।

लभ-क्राइम जनरामा निर्माण हुने फिल्मलाई पौड्यालले नै निर्माण तथा निर्देशन गर्दैछन्। अघिल्लो भागका कुनै कलाकार नदोहोरिने र प्रमुख ४ जना कलाकारलाई डेब्यु गराउने उनले जानकारी दिएका छन्। ‘बाउआमाको रोलमा पुराना कलाकार हुनेछन् भने नयाँ कलाकारलाई डेब्यु गराउने तयारी छ,’ फिल्मबारे पौड्यालले भने।

फिल्मले केटाकेटीको कथालाई नयाँ सेटअपमा भन्ने उनले बताएका छन्। कथाकार समेत रहेका पौड्यालले भने, ‘सुपरडुपर हिट भएको फिल्मको सिक्वेल बनाउँदा आर्थिक रुपमा पनि राम्रै होला भनेर वितरक र साथीभाइको सल्लाहमा सिक्वेल बनाउन लागेको हुँ।’

डेढ करोड बजेट हुने फिल्मको छायांकन माघ ३० गतेदेखि नेपालगञ्जमा हुने तय भएको छ। मौनता श्रेष्ठको पटकथा हुने फिल्म किशोरकिशोरीको प्रेमकथामा आधारित हुनेछ।

नरेशले २०६१ सालमा ‘धड्कन’ निर्माण गरेका थिए। उक्त फिल्ममा निखिल उप्रेती, रेखा थापा, रमित ढुंगाना र अरुणिमा लम्साल प्रमुख भूमिकामा थिए। उनको पछिल्लो फिल्म चाहिं २०६५ मा निर्माण भएको ‘दीपशिखा’ हो। ‘धड्कन २’को संगीतकारमा सुरेश अधिकारी तय भइसकेका छन् भने फिल्ममा ३ वटा गीत हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×