दाङको फूलबारी; नामको मात्र फूलबारी

काठमाडौँ - दाङमा तीन उपत्यका छन्। एउटा देउखुरी, अर्को दाङ र तेस्रो तुइ दाङ। 

तुइ दाङ हालको तुलसीपुर उपमहागनरपालिका–१३स्थित फूलवारी हो  जसले जिल्लाका सबै क्षेत्रको बनावटलाई प्रतिनिधित्व गर्छ। वरिपरि चुरे पहाडले घेरिएको एउटा बस्ती। हेर्दा निकै सुन्दर भएपनि विकासका हिसाबले निकै पछाडि परेको तर औद्योगिक क्षेत्रका नाममा ज्यादै बहस भएको क्षेत्र हो। माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारीले भने, “म नगरप्रमुखका लागि विस २०७४मा उम्मेदवार हुँदा फूलबारीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको थिएँ, किनकि यो स्थल औद्योगिक क्षेत्रका लागि अति उपयुक्त छ।”

त्यहाँ पानी पर्याप्त हुनाका साथै धुलो तथा धुवाँको प्रदुषण कम गर्ने जङ्गल रहेको र आवश्यक जग्गा तथा मजदूर पनि पाइने भएकाले उद्योग स्थापनाका लागि विज्ञहरूले उपयुक्त भएको भनी प्रतिक्रिया दिनाका साथै पर्याप्त बहस पनि धेरै भए। हालका नगरप्रमुख घनश्याम पाण्डे र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पनि फूलबारी औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त स्थान भएको भन्दै अवलोकन तथा छलफल गरेका थिए। सरोकारवालाले पनि यस विषयलाई जोडतोडका साथ उठाएका थिए।

फूलबारी एकान्त पनि भएकाले त्यहाँको बस्तीलाई अन्यत्र स्थान्तरण र  औद्योगिक क्षेत्रका रूपमा विकास गर्न  पटक–पटकको  बहस   बहसमै सीमित भयो। त्यहाँ अन्य विकासका कार्य अझै पनि नभएकाले औद्योगिक क्षेत्र बनाएमा त्यहाँको जीवनस्तर उकासिनेमा स्थानीयवासी अझै पनि आशावादी छन्। “कि त यहाँ राम्रोसँग विकास गरिदिए हुन्थ्यो, कि त औद्योगिक विकास गरेर हामीलाई अन्यत्र व्यवस्थापन गरे निकै सहज हुने थियो”, तुलसीपुर–१३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने। लालबहादुर केसीलगायत  अन्य स्थानीयवासीको भनाइ पनि उस्तै थियो। 

फूलबारीमा दुई क्षेत्रको लडाइँ प्रष्ट देखिन्छ। सबै विकास पश्चिम फूलबारीमा मात्रै हुने गरेको तर पूर्व फूलबारीलाई कुनै पनि चासो नदिने गरेको पूर्वतर्फका नागरिकले गुनासो छ। पश्चिमतर्फ विकासले फड्को मारेको, विद्युत्, पानीलगायतको सुविधा भए पनि पूर्वी फूलबारी भने अझैसम्म अन्धकार भएको त्यहाँका बासिन्दाको गुनासो थियो। “सबै विकास पश्चिममा हुन्छ, नेताहरु पनि सबै पश्चिमतिर छन्”, स्थानीयवासी केसीले भने, “पूर्वतर्फ त हामीलाई नेतृत्वमा पनि राख्दैनन , विकास पनि एकदमै शून्य छ।”

दाङको फूलबारीमा विद्युतका पोल गाडिएको त छ तर राम्रोसँग सबै ठाउँमा बत्ती भने पुग्न सकेको छैन। पूर्वाधार विकास हुन नसक्दा दुःख र कष्ट झेल्दै आएका बासिन्दा दाङको फूलबारी नामको मात्र फूलबारी भएको गुनासो पोख्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×