रुपन्देही - छाडा छाडिएको पशुचौपायाले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु गर्यो। तर चौपाया व्यवस्थापनको नाममा छाडा चौपायालाई गाडीमा बाँधेर घिसार्दै लानु कुन हद सम्मको निर्मम हर्कत हो चेतन मष्तिस्कले सहजै बुझ्न सक्ने कुरा हो।
रनगरपालिकाले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको काम त थाल्यो तर यस छाडा चौपायाको नियन्त्रणको अभियानका क्रममा देखिएका हर्कतहरुलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भएको छ। ४ पुसदेखि छाडा चौपाया व्यवस्थापन सुरु गरेको नगरले नियन्त्रण गर्नका लागि गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि चौतर्फी विरोध सुरु भएको हो।
बुधबार रातीमात्र नियन्त्रणमा ल्याउन छाडा चौपायालाई सडकमै घिसारिरहेका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छाएका छन्। डोरीले चौपायालाई बाँधेर गाडीले घिसार्दै लगिएका तस्बिरहरू सार्वजनिक भएसँगै नगरपालिकाको विरोध भएको हो। सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि यसको सर्वत्र आलोचना भइरहेको छ।
छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्। भने अन्य सामिजक अभियान्ता, समाजसेवीहरुले पनि यस हर्कतको विरोध गरिरहेका छन्।
भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्ममतापूर्ण व्यवहार गरेको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाउने बताए। यसैगरी भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नु आवश्यक रहेता पनि नगरपालिकाले नियन्त्रणको लागि अपनाएको तरिका गलत भएको भन्दै विरोध जनाएका छन्।