काठमाडौँ - पछिल्लो समय सिक्वेल फिल्म निर्माण बढेको छ। यस्तैमा हिट फिल्म ‘इकु’ को तेस्रो सिरिज ‘इकु ३’ निर्माण हुने भएको छ। ‘इकु ३’ पनि सुलेमान शंकरले नै निर्माण गर्न लागेका हुन्।
अगामी चैतबाट छायांकन थाल्ने गरेर फिल्मको स्क्रिप्ट लेखनको काम भैरहेको छ। सानोपर्दाको टेलिश्रृखला ‘मेरी बास्सै’ मा जंगलमा बस्ने एकपात्र ‘इकु’ को भुमिका निर्वाह गरेर हिट भएपछि सुलेमानले यस्तै कथामा २००८ मा फिल्म ‘इकु’ बनाएका थिए। त्यसपछि ‘इकु: ब्याक अगेन’ बनाएका सुलेमानले अहिले यसैको तेस्रो सिक्वेल बनाउन लागेका हुन्। फिल्ममा सुलेमानकै अभिनय तथा निर्माण रहनेछ। अन्य कलाकार भने छनौटको क्रममा छन्।
‘अघिल्ला २ श्रृंखला जंगलमा आधारित भएकोले यो पनि त्यस्तै कथामा बन्ने छ’ सुलेमानले भने ‘जंगल र जनावर बिना त ‘इकु’ सिरिज अधुरो हुन्छ। यसपटक जंगलका साथै गाउँमा पनि फिल्म छायांकन हुन्छ।’ कमेडी कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई २०८१ सालको नयाँ वर्षमा प्रदर्शन गर्ने उनको योजना छ।
‘इकु’ का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए। ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन। सुलेमानले केही अगाडि फिल्म ‘फिर्के’ निर्माण गरेका थिए। जसको ब्यवसाय राम्रो हुन सकेन।