काठमाडौँ - कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला यसवर्ष हुने भएको छ।
यही चैत १८ गतेदेखि वैशाख ३ गतेसम्म उक्त मेला आयोजना गर्न लागिएको हो। मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन कार्यालयले व्यवस्थापनको काम गरिरहेका छन्। दुईवटा उपभोक्ता समितिले पूजा र सामुदायिक वनले पार्किङ् तथा बजार व्यवस्थापनको काम गर्ने भएका छन्। पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम तीव्र पारिएको बताए। मन्दिरको छाना छाउने, खानेपानी र शौचालयको व्यवस्थापनदेखि सरसफाइ, भक्तजनलाई आवतजावतका लागि सडक निर्माण र पूजाका लागि ठाउँ व्यवस्थापनको कामसमेत भइरहेको उनले जानकारी दिए।
दुई वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उपाध्यक्ष शर्माले बताए। उनले भने, “यसवर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या पाँच लाख हुने अनुमान गरेका छौँ।” केरुङगा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले मेला व्यवस्थापनका लागि समिति जिम्मेवार ढङ्गले अघि बढेको बताए। पूजा व्यवस्थापनका लागि १० उपसदस्यीय समिति बनाएर काम अघि बढाइएको उनले जानकारी दिए। मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। साँझ ५ बजेपछि जङगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको अध्यक्ष भुलेलको भनाइ थियो। मेलामा व्यवसाय सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घौलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुसालले बताए।
आठवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम सुरु गरिएको छ। उनले भने, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ् र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने निर्णय गरेका छौँ।” जङ्गली जनावारको आक्रमण हुनसक्ने भएकाले अघिल्ला वर्षजस्तो अबेरसम्म मेला सञ्चालनमा रोक लगाइएको अध्यक्ष भुसालले बताए। उनले थपे, “ध्रुवे हात्तीले गएराति मात्रै चारवटा घर भत्काएको छ। जङ्गली जनावारको डर रातको समयमा बढ्दै गएको छ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीसाधनलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भुसालले जानकारी दिए।
स्वास्थ्य मापदण्डको पालना गर्दै निर्धारित स्थानमा मात्रै पूजापाठ गर्ने व्यवस्था मिलाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।