झ्याउरेवासीले अब पानी लिन खोला झर्नु नपर्ने

काठमाडौँ - बर्दिबास नगरपालिका–१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमाया तामाङका अनुहारमा अहिले चमक आएको छ। 

आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि उनी औधि रमाएका हुन्। बर्दिबास–१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर्खामा खोलाको धमिलो पानी खाँदै आएका यहाँका आधा दर्जनभन्दा बढी बस्तीमा अहिले खुशी छाएको छ।

रोटरी क्लब बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्तरुपमा सो आयोजना सुरु भएको हो।  उनले भने, “पानी लिन अब खोला झर्नु पर्दैन होला।” ती दुई निकायले  ७१ लाखको लागतमा आयोजनाका काम  थालेपछि चुरे काछका शिर, बम्जनटार, पूर्वखोला, झ्याउरे, आँपडाँडा, सातदिने, भालुजोरा, भाङ्ग्रे, गर्दीदोभानसहितका पाखा बस्तीमा खानेपानी पाइने आश जागेको हो। तामाङकै छिमेकी गङ्गीमाया गोले पनि आफूहरुका लागि खानेपानीको जोहो हुन लागेको कुराले दङ्ग छिन्।

सिन्धुली र महोत्तरी छुट्याउने चुरे पाहाड दक्षिणको काछमा अवस्थित बर्दिबास नगरका यी बस्ती शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चार सुविधाबाट बेखबर झैँ छन्। “के गरम् गरिबको घरमा जन्म भोइछ (भएछ), बाउ (बाबु) पुर्खा याँही बसेछन्, जेजस्तो छ आफ्नो ठाममा रमाइन्छ” भालुजोरा बस्तीका ७० वर्षीय संसारसिंह थिङ भन्छन्। यी बस्ती चुरेबाट निस्कने नदीका दायाँबायाँ थुम्कामा छन्। हिउँदभरि हिँडडुल गर्न, बजार जान सजिलै सकिए पनि खोलाकै बाटो हुनाले बर्खा लागेपछि यहाँका बासिन्दा घरघरै थुनिन्छन्। “न बाटो, न पुलपुलेसा, बर्खा लागेपछि त हाम्रो संसार भनेको आफ्नै घर वरिपरि हो” बर्दिबास–१० कै बम्जनटारका ७० वर्षीय पूर्णबहादुर बम्जनले भने।

क्लबले ८० र नगरपालिकाले २० प्रतिशत खर्च जुटाउने सो आयोजना यसै आर्थिक वर्ष भित्रै सम्पन्न गरी यी बस्तीका १९४ परिवारका घरघरमै धारा जडान गरेर पानी वितरण गरिने जनाइएको छ। आयोजनाबाट यी बस्तीका एक हजार १८५ जनसङ्ख्या लाभान्वित हुने क्लबका अध्यक्ष विष्णु खड्काले जानकारी दिए। बम्जनटारस्थित पाखाको कापस्थित पुरानो जरुवा मुहानलाई पक्की पर्खालले घेराबेरा गरी पानी सञ्चित गरेर दुई पानी भण्डारण गर्ने टङ्की निर्माण गरिने आयोजनाले जनाएको छ। 

दुई टङ्कीमा जम्मा हुने प्रशोधित पानी पाइपबाट घरघरै धारा जडान गरेर वितरण गरिने आयोजनाका इञ्जिनियर रोहितकुमार यादवले जानकारी दिए। “यो आयोजना यसैपालि आर्थिक वर्ष सिद्धिनुअघि सम्पन्न हुनेछ” यादवले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×