काठमाडौं, मंसिर १७ । नेपाल धितोपत्र बोर्डले अवरुद्ध रहेको रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) प्रक्रिया पुनः सुरू गर्न अनुमति दिएको छ।
बोर्डले उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै मंगलबार ग्लोबल आइएमई क्यापिटललाई पत्र पठाई आइपिओ प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। पत्रमा अदालतले मिति २०८१ असार १२ गते दिएको स्वीकृतिअनुसार कम्पनीको सेयर निष्काशन कार्य अघि बढाउन उल्लेख गरिएको छ।
यससँगै रिलायन्स स्पिनिङ मिल्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। कम्पनीले एक वर्षअघि नै प्रतिकित्ता ८२०.८० रुपैयाँ दरले सर्वसाधारणका लागि आइपिओ ल्याउने तयारी गरेको थियो, भने संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर खरिद गरिसकेका छन्। धितोपत्र बोर्डले २०८० पुसमै रिलायन्सलाई बुक बिल्डिङ विधिबाट आइपिओ निष्काशन अनुमति दिएको थियो।
गोल्याण समूहअन्तर्गत पर्ने रिलायन्स स्पिनिङ मिल्स २०५४ सालमा स्थापना भएको हो। पछिल्ला वर्षमा कम्पनीले उत्पादन र नाफामा उल्लेखनीय वृद्धि गरेको छ।
वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत वृद्धि हो।
कम्पनीको खुद नाफा ८४५ प्रतिशतले वृद्धि भएको छ। २०८०/८१ मा पाँच करोड ३ लाख रुपैयाँ नाफा कमाउने कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
रिलायन्सको नेतृत्व गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गर्दै आएका छन्। अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो उपस्थितिलाई मजबुत बनाएको कम्पनीले औद्योगिक र व्यापारिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल सरकारले गत असारमा अक्षय गोल्याणलाई सीआईपी (महत्वपूर्ण वर्ष व्यक्ति) उपाधिबाट सम्मान गरेको थियो।