बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा एथ्लेटिक क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।
बार्सिलोनाको शानदार जितमा राफिन्हाले दुई गोल गर्दा फेरान टोरेस, फर्मिन लोपेज र रोनी बार्ड्गीले एक–एक गोल गरे। बार्सिलोनाले खेलको पहिलो हाफमै चार गोल गर्दै खेलमाथि पूर्ण नियन्त्रण जमाएको थियो।
खेलको २२औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि ३०औँ मिनेटमा फर्मिन लोपेजले गोल थपे। ३४औँ मिनेटमा रोनी बार्ड्गीले गोल गर्दा बार्सिलोना ३–० ले अघि बढ्यो।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा, ३८औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को मजबुत अग्रता दिलाए।
दोस्रो हाफको ५२औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० ले अघि राखे। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेनन् र खेल सोही नतिजामा समाप्त भयो।
यो जितसँगै बार्सिलोना अब स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र एट्लेटिको मड्रिडबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनलमा भिड्नेछ।