काठमाडौँ - अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको मंगलबार जारी समुह १ को खेलमा इङ्ल्याण्डले न्यूजील्याण्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै मैदानमा उत्रिएको इङ्ल्याण्डका लागि ओपनरहरु जोस बट्लर तथा एलेक्स हल्सले ठोस योगदान दिए। बट्लरले ४७ बलमा ७ चौका र २ छक्काको सहयोगले ७३ रन बनाए भने एलेक्स हल्सले ४० बलमा सात चौका र एक छक्काको सहयोगले ५२ रन बनाए।
यी २ ब्याटरबाहेक इङ्ल्याण्डका अन्य खेलाडीहरुले खुलेर खेल्न सकेनन्। लियाम लिभिङ्स्टोनले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। न्यूजील्याण्डका लकि फर्गुसनले २ विकेट लिए भने टिम साउथी, मिचेल सेन्टनर तथा इश सोधीले १/१ विकेट लिए।