काठमाडौँ - गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ। यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप रहेका छन्।
पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने। मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए।
अर्का हलिउड अभिनेता विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका कलाकार बनेका छन्। गत मार्च २७ मा आयोजित ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि अभिनेता स्मिथ चर्चामा आएका थिए।
सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री एम्बर हर्ड रहिन्। पूर्वपति तथा अभिनेता जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई पनि चर्चामा ल्यायो। यी तीनै जना कलाकार सर्वाधिक खोजीको सूचीमा पर्नु स्वभाविक नै हो।
अन्य कलाकारहरु क्रिस रक, जाडा पिन्केट स्मिथ, जोसेफ क्वीन, इभान पिटर्स, एन्ड्रियु गारफिल्ड, जुलिया फक्स, एज्रा मिलर पनि सूचीमा अटाएका छन्। क्रिस रक चौथो र जाडा पिन्केट पाँचौं स्थानमा रहेका छन्।
‘स्ट्रेन्जर थिङ्स’ स्टार जोसेफ क्वीन छैटौं, ‘अमेरिकन हरर स्टोरी’ स्टार इभान पिटर्स सातौंमा छन्। स्पाइडरम्यान अभिनेता एन्ड्रियु गारफिल्ड आठौंमा अटाएका छन्।