काठमाडौँ – नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ।
नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिएका हुन्।
नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका रहेको छ।
नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो।
क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ। स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-२ का ४ खेल खेल्ने छ। पहिलो खेल असार २७ गते नामिबियासँग हुनेछ।
अमेरिकामा भएको लिग-२ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो। लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ।