दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।
तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन। मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्। बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुनले बताए।
झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ। झरनाको सिरानमा दुईवटा ताल छन्। तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ। एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ। तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीले झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताए।