काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको षड्यन्त्रपूर्वक निलम्बन लम्बाएर सत्तारुढ गठबन्धन र कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले व्यापक सरुवा र नियुक्ति गर्ने तयारी गरेका छन्। त्यसै स्वरुप आइतबार कार्कीले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। नयाँ कर्मचारीको पदस्थापन र कर्मचारी सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएको बुुझिएको छ।
आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपरान्ह २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।
आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको छ। त्यसैगरी न्याय सेवाका कर्मचारीहरुलाई सरुवा गर्ने एजेन्डासमेत रहेको बताइएको छ।
न्याय सेवा आयोगले बैठकबाट न्याय सेवाका केही रजिष्ट्रार (सचिव) हरुको जिम्मेवारी हेरफेर गर्ने तयारी भईरहेको छ। कर्मचारीको पदस्थापनसँगै सहसचिवसम्मका केही कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा हुनसक्ने आयोगले बताएको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन्। साभार - नेपालदीप