बेलकोटगढीको भवन निर्माण डिपिआर अन्तिम चरणमा

काठमाडौँ - नुवाकोटको बेलकोटगढी नगरपालिकाको नयाँ भवन निर्माणलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरण पुगेको छ। 

नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन भएको कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको हो। डिपिआरको काम सक्नासाथ ठेक्का लगाउन बजेट व्यवस्थापनमा नगरपालिका लागिपरेको छ। उनले भने, “डिपिआर बमोजिम बनाउन सकेसम्म आसन्न स्थानीयतहको निर्वाचन अघि ठेक्का सम्झौता गरेर शिलान्यासको तयारी छ।” बाघखोरमा सरकारी जग्गामध्ये नगरपालिकालाई आवश्यक २४ रोपनी जग्गा प्राप्त गर्न जिल्लास्थित विभिन्न निकायको सिफारिससहित मन्त्रिपरिषद्बाट स्वीकृत गराउन तीन वर्ष लाग्यो। नगरपालिकाको कार्यालय विपद्को कारण जोखिममा परेका बासिन्दालाई पुनःस्थापनार्थ बनाइएको प्रिफ्याक भवनबाट चलिरहेको छ। 

सो भवनमा पर्याप्त कोठा छैन। भएका पनि साँघुरो हुँदा कामकाज र सेवा प्रवाहमा समस्या छ। नयाँ भवन निर्माण चाँडो सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले बताए। भवन बनाउन नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत काम सुरु गर्न यो आर्थिक वर्षमा रु. दुई करोड ५० लाख बजेट छुट्याएको छ। “जग्गा प्राप्तिको प्रक्रियाले भवन निर्माण ढिलो भए पनि अब चाँडो काम थाल्न लागेका छौँ,” खतिवडाले भने, “भवन बनाउन सङ्घीय मन्त्रालयले ५० प्रतिशत बजेट उपलब्ध गराउने जनाएकाले बाँकी नगरपालिकाले व्यवस्थापन गरेर ठेक्काको तयारीमा छौँ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×