काठमाडौँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु. दश लाख राहत प्रदान गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका छन्। उनीहरूको परिवारलाई रु. दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए। चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु–२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो।
यस्तै, भानु–१ का कुशल बानियाँ, बन्दिपुर–४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी–३ का रवीन नेपाली, आँबुखैरेनी–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो। चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रु. दुई लाख र सामान्य घाइतेलाई जनही रु. बीस हजारका दरले उपचारखर्च उपलब्ध गराइएको पण्डितले बताए। भानु नगरपालिका–११ का भीमबहादुर तामाङ, भानु–१३ का चिजबहादुर कुवँर, भानु–१३ कै प्रेमबहादुर बानियाँ, भानु–२ का हेमराज सुनुवार, भानु–२ का सुलभ दाहाल, भानु– २ की सोनी अछामी, बन्दिपुर–५ का अनुप नेपाली, आँबुखैरेनी–१ की अमिसा थापा, बन्दिपुर–१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका–१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन्।
वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु. तीन लाख ४६ हजार राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ।