तनहुँ - तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रवर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन्। बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन्।
बन्दीपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको छलफलले दुवै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरेको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय भएको जानकारी दिए।
“बन्दीपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति भएको छ,” उनले भने। छलफलमा बन्दीपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागिता थियो।
बन्दीपुर आन्तरिक मात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ। १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए। बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ। बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएको छ। बारपाक प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो। बारपाक समुन्द्री सतहबाट दुई हजार मिटरमा अवस्थित छ। २०७४ सालको भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा अहिले घरहरु पुनर्निर्माण भइसकेको छ।