काठमाडौँ - इंग्ल्याण्डको बर्मिङ्घममा जारी कमनवेल्थ गेम्सअन्तर्गत महिला क्रिकेटको स्वर्ण अस्ट्रेलियाले जितेको छ। गएराति सम्पन्न फाइनलमा भारतलाई ९ रनले हराउँदै उसले स्वर्णपदक जितेको हो।
फाइनलमा १६२ रनको लक्ष्य पछ्याएको भारतले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनायो। उसका लागि कप्तान हर्मनप्रीत कौरले अर्धशतकीय पारी खेले पनि भारतलाई जित दिलाउन सकिनन्। उनले ४३ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाएकी थिइन्।
जेमिमा रोड्रिगेजले ३३,दिप्ती शर्माले १३ र सफाली बर्माले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अस्ट्रेलियाका लागि एश्ले गार्डनरले ३, मेघ स्कटले २ तथा डार्सी ब्राउन र जेस जोनासेनले १/१ विकेट लिएका थिए।
त्यसअघि बर्मिङ्घमस्थित एजबास्टन मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। उसका लागि बेथ मोनीले अर्धशतकीय पारी खेलिन्। ६१ रन बनाएकी उनले ४१ बलमा ८ चौका प्रहार गरेकी थिइन्।
कप्तान मेघ लनिङ्गले ३६, एश्ले गार्डनरले २५ र राचेल हाइनसले अविजित १८ रन जोडेका थिए। भारतका लागि रेणुका सिंह, स्नेहा राणाले २/२ तथा दिप्ती शर्मा र राधा यादवले १/१ विकेट हात पारे।
टी-२० शैलीमा खेलाइएको महिला क्रिकेटलाई पहिलोपटक कमनवेल्थ गेम्समा समावेश गरिएको हो।