काठमाडौँ - किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ। अदालतमा मंगलबार लामिछानेको बयान सकिएपछि आज थुनछेक बहस सुरु भएको हो। आज पीडित पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन्।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग पत्र दर्ता गरेसँगै मंगलबार प्रतिवादी लामिछानेको बयान लिइएको थियो। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ।
सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको छ। प्रहरी हिरासतमा रहेका लामिछानेले भने इन्कारी बयान दिएका छन्। नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ।
प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो। सन्दीप र सरकारी पक्षका वकिलको बहस सकिएपछि उनलाई तारेख, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे अदालतले आदेश दिनेछ।