स्वरोजगार बन्दै जुम्लाका महिला

खलङ्गा - चन्दननाथ नगरपालिका– ६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन। घरपरिवारको गुजारा चलाउन निकै गाहे हुन्थ्यो। आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन्। अहिले उनलाई परिवार चलाउन सहज भएको छ।  

आर्थिक आयआर्जनमा सहयोग पुर्याउउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन्। “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ। 

“एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ। टोपी र मोजा बुन्न सिकेका छौँ। घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ।”

चन्दननाथ– ४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ। सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ। सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ। “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ।” 

सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ। कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन्। अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ। उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन्। आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन्। 

पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन्। उनीहरूका परिवार पनि यसबाट खुसी छन्। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उनले सुझाए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×