काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारको दौडमा रहेको बार्सिलोनाले सहज जित निकालेको छ। ला लिगाअन्तर्गत जारी सिजनको २७औं राउन्डको खेलमा बार्सिलोनाले फराकिलो गोलअन्तरको जित निकालेको हो। आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई जिताउन युवा खेलाडी फेर्रान टोरेजले दुई गोल गरे भने विंगर उसामान डेम्बेलेले दुई गोलमा असिस्ट गरे। त्यसैगरी, लामो समयपछि मैदानमा खेल्न पाएका युवा खेलाडी रिकी पुचले पनि एक गोल गरे। तेस्रो गोल याँ खेलाडी पियरे इमरिक अउबामेयाङले गोल गरे।
यो जितपछि बार्सिलोनाले २७ खेलबाट कुल ५१ अंक बनाएको छ।