म्याग्दी। म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ । सो रोगका कारण किसान चिन्तित बनेका छन्।
गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ। कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए। गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए। उनले लगाएका ४०० केराका बिरुवामध्ये ४० भन्दा बढी गवाँरोका कारण मरेका छन्।
पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिंगा, थामडाँडालगायत क्षेत्रमा केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका छन्। बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाका अनुसार बगरफाँटमा घुन र गवाँरोले सयौं रोपनीमा लगाइएको केराका बोट सुक्न थालेका छन्।
केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्। उनले सात रोपनीमा केराखेती गरेका छन्। खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै जान थालेपछि सङ्कटमा परेको कार्कीले बताए।
यहाँका किसानले धान फल्ने खेतमा केराखेती गर्दैआएका छन्। सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले केरा खेतीमा ठूलो क्षति पुर्याएको छ। बगरफाँट र खबरामा मात्रै ४०० रोपनीमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा मात्र वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने किसान बताउँछन्।