आत्महत्या गर्ने सोच बनाएका एचआइभी एड्स सङ्क्रमित नै अहिले अरुलाई बाँच्न सिकाउँदै

काठमाडौँ भारतको मुम्बैमा रोजगारीका लागि गएका शिव अधिकारी (नाम थर परिवर्तित) अहिले नियमित एआरभी (एन्ट्री रेक्ट्रो भाइरल) औषधि खाँदैछन्। उनलाई १५ वर्ष अघि एचआइभी एड्सको सङ्क्रमण देखियो। त्यहाँ एचआइभी देखिएपछि उनलाई यो रोग प्राणघात रोग हो भन्ने लाग्यो। प्राणघातक रोग भएकाले अब बाँच्नु छैन भन्ने सोच बनाएर उनले आत्महत्या गर्ने सोच बनाए।
 
उनले भने, “जिन्दगीमा केही रहेनछ भन्ने सोच आएको थियो। टन्न मादक पदार्थ सेवन गरेर रेलबाट हाम फालेर आत्महत्या गर्ने सोच थियो तर सकिन।” उनी मुम्बईको एक होटलमा १० वर्षसम्म काम गरे। जव एचआइभी सङ्क्रमण देखिएपछि नेपाल फकिएका अधिकारी अहिले एचआइभी सङ्क्रमितको ‘साथी शिक्षक’का रूपमा काम गर्दै आइरहेका छन्।

उनी अहिले भरतपुर अस्पतालका रहेको एएचएफ नेपालमा साथी शिक्षकका रूपमा काम गरिरहेका छन्। विगत ११ वर्षदेखि यो काममा लागेका अधिकारी दैनिक ३० जनाको स्वास्थ्य अवस्थाबारेमा बुझ्ने र उनीहरूलाई परामर्श दिने काम गर्ने गर्छन्। उनले भने, “अरुलाई पनि नियमित औषधि खान सल्लाह दिन्छु, मैले पनि खान्छु।” धेरैजसो एचआइभी असुरक्षित यौन सम्पर्कबाट हुने गरेको भन्दै उनले भने, “दुई मिनेटको मजा जिन्दगीको सजा।”

साथी शिक्षकको रुपमा काम गर्दा धेरै कठिनाइ हुने भए पनि अहिले सहज हुँदै आएको उनले बताए। उनले ती दिन सम्झँदै भने, “पहिला आत्महत्या गर्न मन लागेको थियो। यति धेरै सेवा गर्नु रहेछ के मर्न सकिन्थ्यो र।” समाजले हेर्ने दृष्टिकोणमा सुरुआतमा निकै निचो र हेय भएको भए पनि अहिले क्रमिक सुधार हुँदै आएको उनको भनाइ छ। उनले विगत १५ वर्षदेखि औषधि खाने गरेको सम्झँदै भने “औषधिले धेरै बाँच्ने आधार बढाउँदो रहेछ।”
 
आफूलाई एचआइभी सङ्क्रमण देखिए पनि आत्मबल उच्च बनाएर अहिले यही क्षेत्रमा काम गर्दै आएको भन्दै उनले अहिले देखिएको असमानता हटाउनका लागि समाज र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउछन्। आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितलाई सहयोग गर्नसके यसको रोकथाममा टेवा पुग्ने उनको भनाइ छ। हाल जिल्लामा भएका सङ्क्रमितमध्ये ९५ प्रतिशत सङ्क्रमित गरिबीको रेखामुनि रहेको बताउँदै उनले उनीहरूलाई जीविकोपार्जनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए।
 
सङ्क्रमित अहिले समाजमा हुने विभेदका कारण खुल्न नसकेको पूर्वी चितवनका रमेश चौधरी (नाम थर परिवर्तन) बताउछन्। स्वास्थ्य परीक्षण, उपचार, सहयोग र हेरचाहमा असमानता देखिएको उनको भनाइ थियो। आर्थिकरूपमा सम्पन्न नभएकामा बढी मात्रामा एचआइभी सङ्क्रमण देखिने गरेको भन्दै उनले सङ्क्रमितको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए।

उनकी श्रीमती पनि सङ्क्रमित भएपछि क्यान्सर रोगबाट ग्रसित थिइन्। उपचारको अभावमा उनले आत्महत्या गर्न बाध्य भएको सम्झँदै उनले भने, “दिन दुःखीको कोही हुँदो रहेनछ।” परिवारमा वृद्ध बुबा, चार छोराछोरी रहेको भन्दै उनले दैनिकी चलाउनसमेत कठिन हुने गरेको बताए। छोराछोरीमा पनि एचआइभी सङ्क्रमण देखिएको छ। नियमितरूपमा औषधि सेवन गर्दै आइरहेको सो परिवार अहिले उपचार गर्न नसक्दा एक अभिभावक गुमाएको छ।
 
जिल्लामा अहिलेसम्म दुई हजार ३७ जना सङ्क्रमित रहेका छन्। उनीहरूमध्ये एक हजार ४३ जनाले नियमित एन्टी रेट्रो भाइरल नाम औषधि सेवन गर्दै आइरहेका छन्। उनीहरूलाई एएचएफ नेपाल नामक संस्थाले यातायात, खाद्यान्न, उपचारलगायत सहयोग गर्दै आएको छ। सीमित मात्रामा हुने सहयोगले अपुग हुने गरेको छ। मासिकरूपमा सीमित मानिसलाई दिइने सेवाले कतिपय सङ्क्रमितले नियमित औषधि सेवनमा समेत समस्या आउने गरेको एएचएफ नेपाल भरतपुर अस्पतालका प्रमुख कृष्णहरि सापकोटाले बताए। सापकोटाले औषधि स्थानीयस्तरमा रहेका अस्पतालबाट उपलब्ध गराउन सके प्रभावकारी बन्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×