झापा - बिर्तामोडस्थित डोमालाल रङ्गशालामा हुँदै आएको ‘झापा गोल्ड कप’को पाँचौँ संस्करणका लागि मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ। गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा हात्तीको छावाले फुटबल खेल्दै गरेको मस्कट झापा–११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङले सार्वजनिक गरेका थिए।
त्यस्तै गोल्डकपको नारा र गीतसमेत सार्वजनिक गरिएको छ। झापाको पहिचानको रुपमा स्थापित हुँदै गएको झापा गोल्डकपलाई थप व्यवस्थित गर्दै लैजाने क्रममा मस्कट, नारा र गीत बनाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए।
मस्टक कलाकार पवन राजवंशीले बनाएका हुन्। गोल्ड कपको यस वर्षको नारा ‘हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान’ तय गरिएको छ। गीतकार बसन्त थाम्सुहाङद्वारा रचित अफिसियल गीतमा डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ। यही फागुन २१ देखि बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सञ्चालन हुने गोल्डकपका लागि मैदान व्यवस्थापन, आर्थिक सङ्कलनलगायत काम भइरहेको आयोजक समितिले जनाएको छ।