इलाम - सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। उम्मेदवारले आफ्नो मनोनयन समेत दर्ता गराइसकेका छन्।
निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ। केही ठाउँमा २ वा २ भन्दा बढी उम्मेदवारको मनोनयन पत्र दर्ता नभएपछि केही उम्मेदवार निर्वाचित समेत बनी सकेका छन्।
पछिल्लो समय उम्मेदवार र राजनीतिक दलका प्रतिनिधि जनताको घरघरमा मत माग्न व्यस्त छन्। जिल्लामा १७ वटा निर्वाचन कार्यालयमा दर्ता भएका दलले चुनाव लड्न पाउने छन्। वडा र पालिकामा जनप्रतिनिधि चुन्नका लागि मतदाता समेत लालायित भएका छन्।
यसअघिका निर्वाचनमा भन्दा मतदातासमेत यस पटकको चुनावमा आफूलाई नयाँ के हुन्छ भनेर सोध्नसमेत थालेका छन्। विकास निर्माणका काम निकै कम भएको यसअघि पनि यस्तै हुन्छ कि नयाँ केही काम गरेर देखाउने योजना छन भन्ने प्रश्न उम्मेदवारसँग मतदाताले गरेका छन्।
पार्टीप्रति आस्था राख्ने एकथरी युवा तथा मतदाता आफूले समर्थन गरेको दललाई नै अघि सारेर हिँडे पनि धेरै मतदाता राम्रा उम्मेदवार छान्न लाग्ने बताउँदै आएका छन्। इलाम नगरपालिका–२ सुम्बेकका किशोर खतिवडा यस पटक पहिलो चोटी मतदान गर्दैछन्। उनले हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई जिताउने अठोट लिएका छन्।
जितेर गाउँघर नपुगेका जनप्रतिनिधिदेखि नयाँ अनुहारसहित जनताको घरआँगनमा विभिन्न आश्वासनसहित पुग्न थालेको मतदाताको भनाइ छ। यसअघिका चुनावमा नेताले धेरै आश्वासन देखाए पनि दिएका धेरै आश्वासन पूरा हुन सकेनन्। जनताले अब भने पूरा गर्नसक्ने खालका घोषणापत्र मात्र निर्माण गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै आएका छन्। जिल्लामा पालिकास्तरका घोषणापत्र सार्वजनिक हुन थालिसकेका छन्।
राजनीतिक दल तथा प्रशासनले समेत जनतालाई ढुक्क भएर मतदानको व्यवस्था मिलाउन लागि परेका छन्। जिल्लामा २ लाख २४ हजार ७४८ मतदाता रहेका छन्। जसमा १ लाख १५ हजार ७५४ पुरुष र १ लाख ९ हजार १९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ।
जिल्लामा १५१ मतदानस्थल र २८५ मतदान केन्द्र रहेका छन्।