काठमाडौँ । आफ्नो पदावधिको उत्तरार्द्धमा आएर महोत्तरीको बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाएका हुन्। विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै पदावधि सकिँदैछ।
जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुङ्गा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास सबैभन्दा उपयुक्त स्थल मानिन्छ। नगरक्षेत्रमा २० भन्दा बढी यस्ता उद्योगले मनपरीसँग खाल्डा खनेर अवैधरूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुँलिदै गएपछि उनले अब अवैधरूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता जनाएका हुन्।
“हामी अवैधरूपले सञ्चालित उद्योग तत्काल बन्द गराएरै छाड्छौँ” सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा नगरप्रमुख कार्कीले भने, “यस क्रममा नगरक्षेत्रभित्रका सबै क्रसर उद्योगलाई आफ्नो वैधानिकता पुष्टि गर्न पत्राचार भैसकेको र अब कानुनअनुसार क्रसर उद्योगको नियमन गरिन्छ भनेर आइतबार नै घोषणा पनि गरिसकेका छौँ।”
उनले हिजो आइतबार नै पत्रकार सम्मेलन गरेर नदीजन्य पदार्थको अवैध उत्खनन र निर्यात गर्दैआएका सबै उद्योग बन्द गरिने बताइसकिएको प्रसङ्ग दोहोर्याउँदै यसबारे २०७७ मा पारित भएको मापदण्डअनुसार कार्यान्वयन गरिने जानकारी दिएका हुन्।