काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ महाधिवेशन यही फागुन २८ गते काठमाडौँमा हुने भएको छ। सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौँमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो।
आगामी फागुन २८–२९ गते हुने ११औँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्गठनले जनाएको छ। सङ्गठनका संयोजक केदारप्रसाद देवकोटाले ७७ जिल्ला तथा ३६ विभागीय कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेको बताउँदै ६१९ जना केन्द्रीय प्रतिनिधि निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिको अधिवेशनमा सहभागिता हुने जानकारी दिए।
उनले भने, “सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कूल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिको सहभागिता रहनेछ।”
उनले अधिवेशनलाई सफल पार्न १४ उपसमिति गठन गरी अधिवेशन तयारीको कामलाई व्यवस्थित गरिएको जानकारी दिए। ११औँ अधिवेशनले कर्मचारीसँग अनिवार्य कार्यसम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका सङ्गठनले लिने आगामी रणनीति र कार्यभारसमेत निर्धारण गर्ने सङ्गठनको भनाइ छ।