काठमाडौं । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा पुग्ने भएको छ । एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्राको आज १५ औं दिनमा धनकुटा पुग्न लागेको हो ।
नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ। संकल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए।
यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछन्। अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ। सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम राखिएको छ।
सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको हो। धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा गर्न लागिएको आमसभामा १५ हजार भन्दा बढी मानिस सहभागि हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए।
उक्त संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ।