राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पेस गरिएको बन्द सूचीमा देखिएका गल्तीहरू सच्याइने बताएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा समावेश केही नामप्रति पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले ‘सहमति अत्यावश्यक थियो र अन्तिम समयमा महत्त्वपूर्ण काम गर्नुपरेको’ उल्लेख गर्दै समानुपातिक सूचीमा भएका कमजोरीहरू सुधार गरिने स्पष्ट पारे। साथै, सुशासन र विधिलाई पार्टीको आधार मानेर अघि बढ्ने उनले बताएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्म तोकिएको छ। त्यस्तै, उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा २८ पुसमा निवेदन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।