कैलाली- एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको क्रममा कैलालीमा शंकास्पद वस्तु फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको छ। फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ। घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको प्रहरीले जनाएको छ।
यसैबीच आह्वान गरेको बन्दको प्रभाव कैलालीसहित सुदूरपश्चिमका मुख्य शहर क्षेत्रमा परेको छ। बिहानैदेखि यहाँका शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।