काठमाडौँ - आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा बंगलादेशले जित निकालेको छ। सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराएको हो।
ओभलमा बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो।
नेदरल्यान्ड्सका लगि कोलिन अकेरमानले ६२ रनको अर्धशतकीय पारी खेलेका थिए। ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै स्कट एड्वार्डसले १६ रन जोडे। बलिङतर्फ बंगलादेशका लागि ताकिन अहमदले सर्वाधिक ४ विकेट लिए। त्यस्तै हसन महम्दले २ विकेट लिँदा साकिब अल हसन र सौम्य सरकारले १/१ विकेट हात पारेका थिए।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। बंगलादेशका लागि अफिफ हुसेनले सर्वाधिक ३८ रनको योगदान गरेका थिए। त्यस्तै नजमुल सान्तोले २५ रन बनाउँदा मक्सोद हसनले २० रन जोडेका थिए।
नेदरल्यान्ड्सका लागि पाउल भान माकरन र बस डिलेडले २/२ विकेट लिएका थिए। आजको जितसँगै बंगलादेशले सुपर १२ को समूह २ मा १ खेलबाट २ अंक जोडेको छ। यता नेदरल्यान्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।