काठमाडौँ - अभिनेता सविन श्रेष्ठ अचेल फिल्ममा कम यूट्युबमा बढी छाएका छन्। उनी अहिले दर्शकमाझ यूट्युब होइन भ्लगरको रुपमा चर्चित छन्।सविनले यूट्युबमा भ्लग गर्न थालेको धेरै भयो। खासगरी कोरोना भाइरसको संक्रमण प्रारम्भ भएर घरमै बस्न बाध्य हुनु परेपछि सविनको भिडियो निर्माण बढेको देखिएको छ।
भिडियो मेकिङमा उनलाई अभिनेत्री अनु शाहले शत प्रतिशत साथ दिइरहेकी छिन्। सविनले आफ्ना यूट्युब च्यानलमा एक सय ५० भन्दा बढी भिडियो अपलोड गरिसकेका छन्।
सविनले आफ्नो यूट्युब च्यानलमा कस्ता प्रकारका भिडियो अपलोड हुन्छन् भन्ने कुराको जानकारी समेत दिएका छन्। उनले लेखेका छन्– ‘मलाई साथीहरुसंग यात्रा गर्न, बाइक चलाउन, फिल्म बनाउन मनपर्छ। म यो च्यानलमा आफ्नो जीवनशैली, यात्रा, ड्राइभिङसहित मेरो क्यामरामा जे–जे कैद हुन्छ, ती सबै कुरा अपलोड गर्छु।’
सन् २०१८ को जुलाई ९ का दिन खोलिएको उक्त च्यानलमा अपलोड गरिएका भिडियोहरुले अहिलेसम्म कुल १ करोड ५ लाख ३३ हजार ७ सय भन्दा बढी पटक हेरिएको छ। उनले अपलोड गरेका भिडियोहरु मध्ये अघिल्लो वर्ष ‘अनु शाहलाई डाइभिङ सिकाउन गाह्रो मात्रै होइन, इम्पोसिबल रहेछ’ सबैभन्दा बढी अर्थात करिव ९ लाख भ्युज पाएको छ।
यसैबीच, अभिनेता श्रेष्ठको यो च्यानललाई यूट्युबले यूट्युब सिल्भर प्ले बटन प्रदान गरेको छ। च्यानलले एक लाख भन्दा बढी सब्सक्राइबर पाएपछि यूट्युबले उनलाई यो पुरस्कार दिएको हाे।