जेनजी आन्दोलनमा मृत्यु भएका युवाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, ३१ भदौ । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको आज काठमाडौंमा अन्त्येष्टि हुँदैछ। मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रा निकाल्ने तयारी गरेका छन्। शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् भने शोकमग्न अवस्था देखिएका छन्।

कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन्। सरकारले आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस निर्णयपछि मृतकका परिवारले अन्त्येष्टि कार्यक्रम सम्पन्न गर्न तयारी गरेका हुन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये धेरैजसो गोली लागेका थिए भने कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका थिए।

मृतकका शवहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका थिए। त्यहाँ पोष्टमार्टम गरेर शवको पहिचान गरिसकेपछि आफन्तलाई जिम्मा लगाइएको छ। केही शव पहिले नै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन्। आज रसिक खतिवडा लगायतका मृतकको शवयात्रासहित अन्त्येष्टि कार्यक्रम सम्पन्न हुँदैछ।

यस घटनाले देशभर शोकको छायाँ फैलाएको छ र युवाहरूमा भइरहेको आन्दोलन, सामाजिक असन्तुष्टि, र नागरिक अधिकारको रक्षा सम्बन्धी बहसलाई पुनः सजीव बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×