काठमाडौँ - समाजवादी प्रेस सङ्गठन नेपालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दा सशक्तरूपमा उठाउने नीतिगत व्यवस्था अवलम्बन गरेको छ।
सङ्गठनले विचार एवं समाचारका माध्यमबाट स्वाधिन र समुन्नत नेपाल निर्माण गरी समाजवाद स्थापना गर्ने सङ्कल्पसहितको आन्तरिम विधान निर्माण गरेको हो। विभिन्न १० परिच्छेद तथा पाँच अनुसूची रहेको विधानले देशभर प्रदेश, जिल्ला, शाखा, प्रतिष्ठान, एशोसिएट विस्तार गर्न सकिने सङ्गठनलाई आवश्यकतानुसार विदेशमा पनि शाखा विस्तार गर्न सकिने विधानमा बढीमा १५१ सदस्यीय कार्यसमितिको व्यवस्था छ।
केन्द्रीय सचिवालय केन्द्रीय समितिको एक तिहाइ रहनेछ। केन्द्रीय कार्यालय, सचिवालयको एक तिहाइ हुनेछ। अध्यक्ष र महासचिवसहित १७ सदस्यीय केन्द्रीय कार्यालय रहनेछ एक संयोजकसहित पाँच सदस्यीय केन्द्रीय अनुशासन आयोग हुनेछ। त्यसैगरी, एक संयोजकसहित पाँच सदस्यीय केन्द्रीय लेखा आयोग हुनेछ। सङ्गठनमा योगदान गरेका अग्रज पत्रकारलाई समेटेर एक सल्लाहकार समिति गठन गरिनेछ।
सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारिता क्षेत्रलाई सत्य, तथ्य सूचनाका माध्यमबाट सामाजिक न्यायका पक्षमा केन्द्रित गर्ने लक्ष्य लिइएको बताउँदै विधानले मुलतः समाजमा भेद्भाव र उत्पडीनमा परेका समूहका मुद्दालाई समाचारका रूपमा बाहिर ल्याउने र पत्रकारको पेशागत हकहित र अधिकारका क्षेत्रमा क्रियाशील रहने विषय प्राथमिकतामा राखेको बताएका छन्।