काठमाडौँ। अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई सन् २०२१ को उत्कृष्ट खेलाडी घोषणा गर्दै कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो। विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए।
मेस्सी सर्वाधिक सातौंपटक अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्। यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए। मेस्सीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन्। तर यसपटक पोर्चुगलका रोनाल्डो भने छैटौं स्थानमा रहे।
मेस्सीले सन् २०२१ मा उनले आफ्नो मुलुक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए। अहिलेसम्म उनले ४० गोल गरेका छन्। जसमध्ये २८ गोल बार्सिलोनाको लागि र चार गोल पीएसजीको लागि गरेका छन्। बाँकी ८ गोल राष्ट्रिय टोली अर्जेन्टिनाको लागि गरेका छन्।
बालोन डे’ओरको उपाधि विश्वभरका १८० पत्रकारहरुको मतदानको आधारमा वर्षेनी प्रदान गरिँदै आएको छ। यद्यपि गत वर्ष भने कोरोना महामारीको कारण यो उपाधि प्रदान गरिएको थिएन।
पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ द इयरको उपाधि पाए। उनले सन् २०२१ मा ५३ गोल गरेका छन्। त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि इटालीका गियानलुइगी डोजनरुम्बाले पाए। त्यस्तै चेल्सी क्लब अफ द इयर बन्यो।