जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।
आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहीद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । ‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता’, उनले भने ।