काठमाडौँ, मंसिर १८ — जेनजी प्रदर्शनको क्रममा घटेका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालसँग विस्तृत बयान लिएको छ। आयोगले मंसिर १७ र १८ गते सिंहदरबारस्थित कार्यालयमा उपस्थित गराई रिजालसँग क्रमिक रूपमा सोधपुछ गरेको हो।
भदौ २३ र २४ मा काठमाडौँका बानेश्वर क्षेत्रमा जेनजी प्रदर्शन हुँदा प्रहरी गोली प्रहारबाट किशोरहरूको ज्यान गएको घटनापछि तत्कालीन प्रजिअ रिजालमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको थियो। सोही विषयमा भइरहेको निरन्तर आलोचना र प्रश्नलाई ध्यानमा राख्दै आयोगले उनलाई विस्तृत रूपमा बयानका लागि बोलाएको हो।
आयोगका एक सदस्यका अनुसार रिजालसँग दुई दिनसम्म बयान लिए पनि केही महत्वपूर्ण प्रश्नहरु अझै बाँकी रहेकोले शुक्रबार पुनः उपस्थित गराउने तयारी गरिएको छ। सदस्यका शब्दमा, “छवि रिजालको बयान अन्तिम चरणमा पुगेको छ, केही प्रश्नहरू बाँकी छन्।”
आयोगले यसअघि सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, नेपाल प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न निकायका अधिकारीहरूसँग पनि सोधपुछ गरिसकेको छ।
हालसम्म करिब १५० जनाबाट बयान लिइसकेको आयोगले जेनजी प्रदर्शनका तथ्य, जिम्मेवारी र निर्णय प्रक्रियामा संलग्न सबै तहका अधिकारीहरूमाथि छानबिन जारी राखेको जनाएको छ।
आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक हुने समय तोकिएको छैन, तर जेनजी प्रदर्शनका क्रममा भएका घटनाक्रमबारे स्पष्ट सत्यतथ्य बाहिर आउने अपेक्षा जनाइएको छ।