इलाम - राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ। पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो।
बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडी अर्थात् पुरुष २ र महिला १ गरेर ३ खेलाडी छनोट गरिएको छ। त्यस्तै साइक्लिङ विधातर्फ ३ पुरुष र १ महिला राइडर छनोट गरिएको जनाइएको छ। यस विधाका लागि टाईसन राई, सागर तामाङ (विश्वास) राई र केसीका राईले इलामबाट प्रदेश छनोटमा सहभागिता जनाउने बताइएको छ।
करातेबाट महिलातर्फ ४५ किलोदेखि ६८ किलो तौल समूह र पुरुषतर्फ ५० देखि ८४ किलोमाथिको तौल समूहका खेलाडी छनोट गरिएको छ। त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीसमेत छनोट गरिएको हो।
सबैभन्दा बढी खेलाडी फुटबल खेलबाट छनोट गरिएको छ। महिलातर्फका १ सय ३० खेलाडीमध्येबाट २५ जनालाई प्रारम्भिक छनोट गरिएको थियो। प्रारम्भिक सूचीमा परेकामध्येबाट पछिल्लो पटक १६ खेलाडी छनोट गरिएको छ।
त्यसैगरी पुरुषतर्फ १ सय ९५ खेलाडीमध्ये प्रारम्भिक सूचीमा ३६ खेलाडी रहेका थिए। त्यसबाट अन्तिम छनोटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिने जनाइएको छ। यही भदौ ३ गतेबाट खेलाडी छनोट सुरु गरिएको जनाइएको छ।