काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज क्यानडा जान लागेको हो।
भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो। क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ। नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन्। क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो। नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा २ वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका रहेको छ।
लिग-२ मा नेपाल तालिकाको पाँचौ स्थानमा रहेको छ। नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ। आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ। विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ। नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिग दुईअन्तर्गत स्कटल्यान्डसँगको खेल चुनौतीपूर्ण रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिएका थिए। त्यस्तै कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्यान्डको जस्तै हुने भएकाले यस भ्रमणले लिग-२ का लागि उपयोगी हुने बताए। उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्यान्ड जानेसमेत उल्लेख गरे।