काठमाडौँ - कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन्।
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहन सकेन। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ। आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो। पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेलाको मूल आयोजक समिति बनेको छ। अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन्।
मेलाको मृख्य आकर्षणका रुपमा खुला लोकदोहोरी, कालिका कप भलिबल, लोकभजन, परम्परागत छेलो प्रतियोगिता आदि रहने उनको भनाइ छ। यसवर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ। लोकदोहोरीमा पहिलो हुने समूहले रु. तीन लाख, दोस्रोले रु. एक लाख ५० हजार र तेस्रोले रु. ७५ हजार पुरस्कार पाउनेछ। भलिबलमा पनि लोकदोहोरीकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु. दुई लाख, दोस्रोलाई रु. एक लाख र तेस्रोलाई रु. ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ। यस्तै, परम्परागत छेलो प्रतियोगिताका विजेताले रु. ११ हजार १११ र उपविजेताले रु. पाँच हजार ५५५ प्राप्त गर्नेछन्।
बर्सेनि चैत्राष्टमी मेला पारेर हुने यस मेलालाई पर्यटन र व्यापार प्रवर्द्धनका दृष्टिले पनि महत्वका साथ लिइन्छ। मेलामा स्थानीय उत्पादनको बजार लाग्छ। डोका, नाङ्ला, ठेकाठेकी जस्ता मौलिक उत्पादन बेच्न गाउँदेखि व्यापारी मेलामा झर्छन्। हस्तकला र घरेलु सीपबाट बनेका सामग्रीको किनबेच पनि उत्तिकै हुन्छ। मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिन्छ । मौलिक कला, संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य पनि प्रस्तुत हुन्छ। कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर दर्शक-भक्तजनको घुइँचो नै लाग्छ। चैत्राष्टमीमा विशेष पूजाआजा हुने भएकाले मन्दिरमा टाढाटाढाबाट दर्शनार्थी आउँछन्।
बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले चैत्राष्टमी मेला जिल्लाको पहिचान र परम्परासँग जोडिएको बताए। खड्काले आफू गुठीको अध्यक्ष हुँदा व्यवस्थित रूपमा मेला सञ्चालनको थिति बसालेको स्मरण गरेका छन्। त्यसअघि मन्दिर परिसरमा स्वतस्फूर्त रूपमा मेला लाग्ने गर्थ्यो। पहिलेपहिले तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै ठूलो मेलाका रूपमा यहाँको चेतै दसैँ मेलालाई लिने गरिन्थ्यो। केही वर्ष उद्योग वाणिज्य सङ्घले चैत्राष्टमीकै मौकामा बागलुङ महोत्सव पनि आयोजना गर्यो। पछि गुठीले सालिन्दा मेला आयोजना गर्न थालेपछि महोत्सव अरु समयमा हुन थालेको हो।