एजेन्सी - इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएका छन्। उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन्। गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन्।
भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० औँ बार्षिकोत्सवको अवसरमा उनले भारतको भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही अप्रिल ३ देखि ५ सम्म भ्रमण गर्ने तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
उनीहरुका बीचमा यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धी सम्मेलनमा साइडलाईन भेटवार्ता भएको थियो।