काठमाडौँ - रसुवाको दूरदराज क्षेत्रमा अवस्थित हाकु इलाकामा सञ्चालित जिल्लाकै सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ।
आयोजनाबाट प्रभावित मानिएका स्थानीय बासिन्दालाई उनीहरूको क्षमतानुसार रोजगारीको अवसर प्रदान गरी क्रमिक रूपमा सामाजिक विकासलाई सघाउने लक्ष्य लिएको छ। रोजगारी, शैक्षिक जागरण, सामाजिक कार्य, धर्मसंस्कृति, वातावरण र जैविक विविधता संरक्षण, स्वास्थ्योपचारमा सहजीकरण, खेलकुदलाई प्रोत्साहन,सुरक्षामा सहयोग एवं पूर्वाधार निर्माण जस्ता कार्यलाई प्राथमिकता दिइएको छ।
आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाकु क्षेत्रका १५० स्थानीयवासीले रोजगारी एवं करिब १५ व्यक्तिले आफ्नो क्षमतानुसार कामको अवसर पाइसकेका छन्। आयोजनाले आफ्नो कार्य क्षेत्र तय गरेलगत्तै सामाजिक योगदानलाई उच्च प्राथमिकता दिँदै आएको छ। शिक्षाको गुणस्तरमा वृद्धि गराई प्रभावित क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न ठूलो र सानो हाकु तथा हाकुबेँसीका विद्यालयमा तीन वर्ष अगाडिदेखि एक-एक शिक्षक व्यवस्था, टाढाबाट आएका छात्रछात्रालाई धुञ्चेस्थित रसुवा माविको हातामा छात्रावास भवन एवं राम्चेमा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ।
हाकु स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गर्नाका साथै विगतका समयमा कोभिड सङ्क्रमण नियन्त्रणका लागि गोसाईँकुण्ड, आमाछनेदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ।