मेसीले पहिलोपटक गरे अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल

काठमाडौँ - लियोनल मेसीले पाँच गोल गरेपछि अर्जेन्टिनाले आइतबार राति मैत्रीपूर्ण फुटबल खेलमा इस्टोनियालाई ५–० हराएको छ। मेसीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो।

योसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने चौथो खेलाडी बनेका छन्। स्पेनमा सम्पन्न खेलमा मेसीले पहिलो हाफमै दुई गोल गरेका थिए। पीएसजीका फरवार्ड मेसीले दोस्रो हाफमा थप तीन गोल गरेका हुन्।

घरेलु मैदान एस्टेडियो अल साडरमा भएको खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना सहज जीततर्फ अगाडि बढेको थियो। ७१ औं मिनेटमा मेस्सीले व्यक्तिगत चौथो गोल गरे। यस्तै ७६ औं मिनेटमा मेस्सीले पाँचौ गोल गर्दै अर्जेन्टिनालाई ५-० गोलको जीत दिलाएका हुन्।

योसँगै मेसीले सिनियर करियरमा पहिलोपटक अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गर्न सफल भएका छन्। यसअघि, मेसीले बार्सिलोनाबाट भने एकै खेलमा पाँच गोल गरेका थिए। सन् २०११/१२ को च्याम्पियन्स लिग अन्तिम–१६ मा बार्सिलोनाले बायर लेभरकुसेनलाई ७–१ ले हराउँदा मेसी एक्लैले पाँच गोल गरेका थिए।

३४ वर्षीय मेसीले अर्जेन्टिनाबाट ८६ गोल गरिसकेका छन्। उनले हंगेरीका महान् खेलाडी फेरेन्क पुस्कासलाई पनि पछि पारेका छन्। पुस्कासले ८४ गोल गरेका थिए।

मेसीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इरानका अली दाई र मलेसियाका मोख्तर दहारी छन्। म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले ११७ गोल गरिसकेका छन्। अली दाईले १०९ र दहारीले ८९ गोल गरेका छन्।

गएको साता सम्पन्न ‘फिनालिसिमा’मा पनि इटालीलाई ३–० ले हराउँदा बार्सिलोनाका पूर्वफरवार्ड मेसीले दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए। फिनालिसिमा कोपा अमेरिका विजेता र युरोपियन च्याम्पियनसिप विजेताबीचको खेल थियो। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्न सफल भएको थियो। त्यो मेसीले राष्ट्रका लागि जितेको पहिलो ठूलो उपाधि थियो।

अर्जेन्टिना पछिल्ला ३३ खेलमा अपराजित छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×