काठमाडौँ - फ्रान्सले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। इटालीमा सोमबार सम्पन्न फाइनलमा साविक ओलम्पिक च्याम्पियन फ्रान्सले अमेरिकालाई ३-२ को सेटमा हराउँदै पहिलोपटक भिएनएलको उपाधि जितेको हो।
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले अमेरिकालाई २५-१६ २५-१९ १५-२५ २१-२५ १५-१० को सेटमा हरायो। यसैगरी आइतबार तेस्रो स्थानका लागि भएको खेलमा ओयाजक इटालीलाई २५-१६ २५-२३ २५-२० को सोझो सेटमा हराउँदै विश्व च्याम्पियन पोल्यान्डले कास्य पदक जित्न सफल भएको छ।
टोकियो ओलम्पिकमा ‘मोस्ट भ्यालुएबल प्लेअर’ को अवार्ड पाएका एर्भिन भिएनएलको पनि एमभिपी नै घोषित भए। ३१ वर्षीय एर्भिनले यसअघि एफआइभिबी भलिबल वल्र्ड लिगको सन् २०१५ र २०१७ मा पनि यही अवार्ड जितेका थिए।
यसैगरी प्रतियोगिताको उत्कृष्ट सेटर अमेरिकाका मीका क्रिस्टनसन, ओपोजिट फ्रान्सका जीन पेट्री, वाउट साइड हिटर फ्रान्सका ट्रेभर क्लेभेनोट र इर्भिन, मिडल ब्लकर पोल्यान्डका डेभिड स्मिथ र म्याथेयज बाइनिक तथा लिब्रो फ्रान्सका जेनिया ग्रेबेनिकोभ घोषित भए।