काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ५९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ। होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन्।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन्। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय सङ्क्रमित रहेका छन्। कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।