सङ्क्रमण बढेपछि अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ।

सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन्। केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन्। स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन्।

प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन। जसबाट सङ्क्रमण बढेको बताइन्छ। जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ।

उनले भने, “प्रशासन कार्यालयका केही कर्मचारी सङ्क्रमित भएर आइशोलेशनमा रहेको र अन्य केही कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ। जसबाट सङ्क्रमण जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेकका प्रशासनका नियमित सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेका छौँ।” यसैगरी, मालपोत कार्यालयको सेवा पनि आजदेखि माघ १७ गतेसम्मका लागि स्थगन गरिएको छ।

कार्यालयका अनुसार नियमित कार्यसम्पादनको क्रममा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमित भएको र थप केहीमा लक्षण देखिएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×