‘पृथ्वीराज’मा अक्षयको सिंहसँग लडाइँ

काठमाडौँ - भारतमा यति बेला चलचित्र ‘पृथ्वीराज’को चर्चा भइरहेको छ। भारतका तत्कालीन एक क्षेत्रीय राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित चलचित्रमा अभिनेता अक्षय कुमार मुख्य भूमिकामा छन्।

चलचित्रको हालै रिलिज भएको ट्रेलरमा देखाइएको भव्य सेट, कलाकारहरूको पहिरन र लडाइँको दृश्यले दर्शकमा उत्सुकता बढाएको छ। भारु ३०० करोडको लागतमा यो चलचित्र बनेको बताइएको छ।

ट्रेलरमा अभिनेता अक्षय कुमार दुई ठूला सिंहसँग भिडिरहेको देखाइएको छ। उक्त दृश्य खिच्नका लागि फिल्मका सदस्यहरू अफ्रिका गएका थिए। वास्तविक सिंहको अगाडि क्रोमा राखेर सिंहहरू उफिएको, हिंस्रक भएको अलग–अलग पोजहरू खिचिएको थियो।

यस्तै, ऐतिहासिक महल, दरबार र बजारको सेट बनाउन निर्माताले भारु ३५ करोड खर्च गरेको उल्लेख गरिएको छ।

प्रोडक्सन डिजाइनर अमित रे र सुब्रत चक्रवर्तीका अनुसार उक्त दृश्य राजस्थानमा छायांकन गरिएको हो। करिब ४०० ‘सैनिक’ र सयौँ हात्तीहरू प्रयोग गरी दृष्य खिचिएको थियो। उनीहरूसँगै तरबारलगायत हातहतियारहरू थिए। ती हतियार एक क्षेत्रबाट अर्को क्षेत्रमा छायांकनका लागि पुर्‍याउन १९ वटा ट्रकको प्रयोग गरिएको थियो।

चलचित्रमा अक्षय, सञ्जय दत्त, सोनु सुद, मानुषी छिल्लर, मानव विज, साक्षी तज्वर लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ। चन्द्रप्रकाश द्विवेदीको लेखन र निर्देशन रहेको चलचित्र आउँदो जुन ३ तारिखमा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदै छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×