काठमाडौँ। कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनमा आवद्ध पदाधिकारीहरु नै दलीय राजनीतिमा सक्रिय हुनु दुःखद् कुरा हो। अहिले बारले न्यायालय शुद्धिकरणको नाम दिएर आन्दोलन गरेतापनि निष्कर्षमा यो केहि व्यक्तिहरुको निजी स्वार्थको लागि गरिएको भन्ने बुझीइसकिएको छ। स्वतन्त्र कानून व्यवसायीहरुले बारका अगुवा नेताहरुको निजी स्वार्थ पूरा गर्नको लागि आन्दोलन भएको बताईरहेका छन्। यसैक्रममा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका वकिलहरुको आन्दोलनविरुद्ध सेतो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन्। अहिले बारको आन्दोलन निरिह बनेको छ। न्यायालय पुन: आफ्नै गतिमा सुचारु भएको छ। गोलाप्रथा समेत लागु भइसकेको छ। माओवादी सरकारको पालामा महान्यायाधिवक्ता समेत भइसकेका बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ हालै माआोवादी केन्द्रको कानून विभागमा नियुक्त भएका छन्। बारको आन्दोलनमा अगुवाई गरेका रमनकुमार श्रेष्ठ मात्र होइन अहिले बारको आन्दोलनमा सक्रिय रहेका केन्द्रीय सदस्य प्रकाश महर्जन पनि माओवादीको सक्रिय राजनीतिमा सहभागी छन्। उनी हालै माओवादीको उपत्यका बिशेष प्रदेशको सदस्यमा निर्वाचित भएका छन्। निर्वाचनमा नै भाग लिएर उनले जिम्मेवारी सम्हालेका छन्।
साभार : रिपोर्टस नेपाल