साहिनले विश्वकप खेल्ने

काठमाडौँ - पाकिस्तानका फास्ट बलर साहिन शाह अफ्रिदीले अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। चोटका कारण साहिन विश्वकप खेल्ने वा नखेल्ने दोधारमा थिए।

पूर्ण रूपले चोट निको भएपछि साहिन पाकिस्तानी टोलीमा फर्किएको पाकिस्तान क्रिकेट संघ (पिसिबी)ले जनाएको छ। पाकिस्तान मेडिकल टोलीको निरीक्षणमा रहेका साहिन तत्कालै अभ्यास खेल खेल्न सक्छन्।

पाकिस्तानले विश्वकपको तयारीका लागि १७ अक्टोबरमा इंग्ल्यान्ड र १९ अक्टोबरमा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पिसिबीले यी दुवै खेलमा साहिन उपलब्ध हुने जनाएको छ। चोटका कारण एसिया कप खेल्न नपाएका साहिनले विश्वकप खेल्न उत्साहित भएको प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रिय टोलीमा जोडिन पाउँदा म निकै उत्साहित छु। अस्ट्रेलियामा खेल्न तयार छु,’ साहिनले भने, ‘यसबीचमा निकै समस्या भोग्नुपर्यो। फरक परिस्थिति थियो।’

साहिनले पछिल्लो १० दिन लगातार ८ ओभर बलिङ गरेका थिए। उनले नेटमा बलिङ र ब्याटिङको साथमा रमाइलो भइरहेको बताएका छन्। साहिनले खेलक्रममा आफ्नो विकल्प खोज्न नपर्ने र खेलको प्रतीक्षामा रहेको जनाएका छन्।

ओपनर फखर जमानसमेत टी-२० विश्वकपमा फर्कन सक्ने भएका छन्। साहिनसँगै फखर र प्रशिक्षक उमार रहिदसमेत ब्रिसबान जाने भएका छन्। ३२ वर्षीय फखरसमेत स्वस्थ हुने तयारीमा छन्। फखर पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने एक्ला खेलाडी हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×