काठमाडौँ - इङ्ल्यान्ड फुटबल संघले रेफ्रीको आलोचना गरेका भन्दै एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्डलाई मंगलबार ३० हजार पाउन्ड जरिवाना गरेको छ ।
गत अप्रिलमा सम्पन्न इङ्लिस प्रिमियर लिगको खेलमा लिभरपुलसँग २–० ले पराजित भएपछि लाम्पार्डले आफ्नो टिमलाई पेनाल्टी दिएको भन्दे रेफ्री स्टुवार्ट एटवेलको आलोचना गरेका थिए। लिभरपुलका रक्षक जोमाटिपले एभर्टनका एन्थोनी गोर्डनलाई फउल गरे पनि पेनाल्टी नदिएको भन्दै लाम्पार्ड आक्रोसित भएका थिए।
गत महिनाको सुरुमै फुटबल संघले लाम्पार्डलाई रेफ्रीहरुको निष्ठामा आक्रमण गरेर अनुचित आचरण गरेको आरोप लगाएको थियो। यो पटक भने लाम्पार्डमाथि जरिवाना नै गरिएको हो।
गत जनवरीमा एभर्टनको प्रशिक्षण सम्हालेका लाम्पार्डले क्लबलाई रेलिगेशनबाट जोगाएका थिए। एभर्टनले रेलिगेशन क्षेत्रभन्दा चार अंकले माथि १६औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।